प्रधानमन्त्री ओली विद्यालय भवन उद्घाटन गर्न आज तेह्रथुम जानुहुँदै


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज तेह्रथुम जाँदै हुनुहुन्छ।

प्रधानमन्त्री ओलीको जन्मस्थान तेह्रथुम जिल्लाको आठराई गाउँपालिका-४, इवास्थित श्री प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे पक्की भवनको उद्घाटनका लागि आज प्रधानमन्त्री ओली जान लाग्नुभएको हाे।

प्रधानमन्त्री ओली  हेलिकप्टरमार्फत आठराई जान लागेको  तेह्रथुमका प्रदेश सांसद किशोरचन्द्र दुलालले जानकारी दिनुभयो।

प्रधानमन्त्री ओली बिहान साढे १० बजे तेह्रथुम पुग्नुहुने तेह्रथुमका सांसद सीता गुरुङले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको स्वागतका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत नेकपा एमाले र कांग्रेसका नेता इवा पुगिसक्नुभएको छ।

प्रधानमन्त्री ओलीले सोही ठाउँमा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको पनि अवलोकन गर्नुहुनेछ।

उक्त भवन उद्घाटनका लागि कोरियन उम हङ गिल फाउन्डेशनका प्रतिनिधि पनि आठराई पुग्ने जनाइएको छ।

प्रधानमन्त्री ओलीले केही वर्षअघि आफ्नो जन्मथलोमा रहेको पुरानो घरको छेउमा हेलिप्याड निर्माण गरेका छन् । उहाँ त्यहीँ अवतरण गरेर विद्यालयतर्फ जाने कार्यतालिका रहेको छ।

स्कूल भवनको निर्माण उम हङ गिल ह्युम्यान फाउन्डेशन, कोरियाको रु.४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारबाट रु.२१ लाख ४० हजार र आठराई गाउँपालिकाको रु.६९ लाखको साझेदारीमा निर्माण भएको हो। फाउन्डेशनको उच्च लगानीमा बनेको भवन सबैपक्षको सहयोग गरी कुल रु.५ करोड ५० लाख हाहारीमा तयार भएको विद्यालयका प्रअ अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो। उहाँले नयाँ भवन निर्माणसँगै विद्यालयलाइ गुणस्तरीय शिक्षा प्रदान गर्न थप सुविधा भएको बताउनु भयो।

Contact Info

Email: [email protected]

Phone: +1 234 567 890